From: PoonHill [#1]
20 Jun 2008
To: ALL
राष्ट्रपतिमा माधव नेपालको सम्भवना बढ्यो
:: समाचार
- अमेरिकादर्पण सम्वाददाता
राष्ट्रपतिमा माधव नेपालको सम्भवना बढ्यो काठमाडौं, १९ जुन/ राष्ट्रपति पदको विवाद समाधान नभइसकेको अवस्थामा संविधानसभामा तेस्रो ठूलो दल नेकपा एमालेले राष्ट्रपति पाउने सम्भावना बढेर गएको छ । नेकपा माओवादीले कुनै पनि अवस्थामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिने अडान लिएपछि एमालेले आफ्ना पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव माओवादी समक्ष राखेको माओवादीस्रोतले बताएको छ ।
रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउने प्रस्ताव राखेको माओवादीले वामपन्थी एकता गर्ने र पहिलो राष्ट्रपति वामपन्थीहरुकै बनाउने नाममा एमालेका पूर्व महासचिव माधव कुमार नेपालको नाममा सहमति जनाउने सम्भावना बढेर गएको बताइएको छ । एमालेका महासचिव झलनाथ खनालले माओवादीलाई आफ्नो उद्दण्ड क्रियाकलाप बन्द गरी वामएकताको पक्षमा लाग्न आग्रह गरिरहेको बेला संविधानसभामा वर्चश्व रहेका वामपन्थीबीच कार्यगत एकता हुने सम्भावना बढेर गएको छ ।
राष्ट्रपति पदको विवाद नटुङ्गीएको अवस्थामा माओवादी र एमालेबीच हिजो र आज पटकपटक दुइपक्षीय वार्ता भएका छन् । वार्तामा माओवादीले कुनै पनि हालतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नस्वीकार्ने अडान लिइरहेको बताइएको छ । एमालेले भने गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति स्वीकार नगरे आफ्नो पार्टीका पूर्व महासचिवलाई राष्ट्रपति बनाउनुपर्ने औपचारिक अडान माओवादी समक्ष राखेपछि माओवादी त्यसमा लचकताको साथ प्रस्तुत भएको बताइएको छ । यदि एमालेका पूर्व महासचिवलाई राष्ट्रपति बनाउनेमा सहमति कायम भयो भने संविधानसभामा चुनावको माध्यमबाट राष्ट्रपति चुनिने सम्भावना छ ।
स्मरणरहोस्, एमाले र माओवादीको संविधानसभामा बहुमत छ भने बहुमतकै आधारमा राष्ट्रपति र प्रधानमन्त्री चुन्ने प्रावधान संविधानमा उल्लेख गर्न सबै राजनीतिक दलहरुले सहमति जनाइसकेका छन् ।Reply
Reply to All